प्रेस विज्ञप्तिः सामाजिक अपराध/हिंसा नियन्त्रणका लागि सहकार्य

मिति: कार्तिक ३,२०७७

समाजमा कुनै पनि व्यक्तिलाई सामाजिक मूल्य मान्यताका कारण लिंग, जात, उमेर, वैवाहिक स्थिति एवं अन्य कुनै पनि प्रकारले गरिने विभेद सामाजिक हिंसा हो । अहिले देशभरि महिला हिंसा तथा अन्य सामाजिक अपराधका घटनाहरु बढ्दै गएको र दण्डहीनता पनि मौलाउँदै गएको अवस्था छ । बन्दाबन्दीको ५ महिने अवधिमा मात्रै १५३१ महिला हिंसाका घटनाहरु दर्ता भएका थिए भने सुदुरपश्चिम जिल्लामा मात्रै १४९ घटनाहरु दर्ता भएका थिए । नेपालको संविधानले हरेक व्यक्तिलाई समान हक प्रदान गर्दछ | कुनै पनि व्यक्तिलाई उसको जात, धर्म, लिंग वा अन्य कुनै पनि आधारमा विभेद गर्नु भनेको अपराध मान्दछ | तर समुदाय स्तरमा हिंसा तथा विभेदका घटनाहरु दिनानुदिन बढिरहेका छन् । यसलाई सम्बोधन गर्नका लागि तत्कालै व्यक्तिगत, सामाजिक, स्रोत साधन र नीति निर्माणको सवालमा काम गर्न र दीर्घकालिन सोचका साथ थुप्रै कामहरु गर्न आवश्यक देखिन्छ ।

यसै सन्दर्भमा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल तथा सम विकाश नेपालको संयुक्त आयोजनामा “सामाजिक अपराध/हिंसा नियन्त्रणका लागि सहकार्य” विषयक भर्चुअल अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । यो अन्तक्र्रिया १९ अक्टोबर २०२० (कार्तिक ३, २०७७) का दिन दिउँसो २ बजे देखि ४ बजेसम्म जूममार्फत् आयोजना गरिएको थियो पत्रकार, स्थानीय नेताहरु, माननीय सांसदज्यूहरु, महिला मानव अधिकार रक्षकहरु, जनप्रतिनिधिहरु र संस्थामा कार्यरत व्यक्तिहरु लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु गरी जम्मा ७५ जना सहभागिता रहेको थियो । सामाजिक न्याय र समानता नभए सम्म महिलाहरु माथि हुने हिसा र अपराध किन कम हुन सक्दैन ? र सामाजिक अपराध कम गर्न के के गर्न सकिन्छ भनेर सरोकारवालाहरुसँग संवाद अगाडि बढाउँदै निक्र्यौल गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालका अध्यक्ष डा. रेणु अधिकारीले मानसिकता परिवर्तन र सामाजिक रुपान्तरण नभए सम्म महिला माथि हुने हिंसा कम हुन नसक्ने र यसको लागि राजनीतिक पार्टी र नागरिक समाजको संयुक्त सहकार्य आवश्यक हुने बताउनु भएको थियो । स्थानीय राजनीतिक पार्टी र विशेषगरी पुरुष नेताहरुकै अगुवाइमा सामूहिक रुपमा सामाजिक रुपान्तरणको अभियान चलाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो । जसमा बाजुरा जिल्लाबाट नेपाली कांग्रेसका केन्द्रीय कमिटी सदस्य बद्री पाण्डे, अछाम जिल्लाबाट राष्ट्रिय सभा सदस्य माननीय सांसद शेरबहादुर कुवँर तथा कन्चन्पुर जिल्लाबाट नेपाली कांग्रेसका सदस्य तथा भूतपूर्व सिचाईँ मन्त्री नारायण प्रकाश साउद सम्पूर्ण उपस्थित राजनीतिज्ञहरुले प्रतिबद्घता व्यक्त गर्नु भएको थियो ।

सम्बोधनका लागि आवश्यक पहलहरुबारे बोल्ने क्रममा नेपाली कांग्रेसका केन्द्रीय कमिटी सदस्य तथा स्थानीय नेता बद्री पाण्डेले लामो राजनीतिक क्रान्तिबाट परिवर्तन आएको भए पनि राजनीतिक पार्टी तथा नेतृत्वमा सामाजिक क्रान्तिको आवश्यकता बोध हुन नसकेकोले पनि हिंसा घट्न नसकेको धारणा व्यक्त गर्नुभयो । त्यसैगरी महिलाका कुरा पुरुषले नउठाए सम्म र दलितका कुरा गैर दलितले नउठाए सम्म वास्तविक परिवर्तन देख्न नसकिने र सम्पूर्ण नागरिकको अधिकार सुनिश्चित गर्न नसकिने कुरा बद्री पाण्डेले बताउनुभयो र हिंसा नियन्त्रणको सहकार्यका लागि व्यत्तिगत र पार्टीगत प्रतिवद्घता व्यक्त गर्नुभयो ।

त्यसैगरी राष्ट्रिय सभाका सुदुरपश्चिम प्रतिनिधि माननीय सांसद शेरबहादुर कुवँरज्यूले अबको प्राथमिकतामा सामाजिक तथा आर्थिक रुपान्तरणलाई राख्नुपर्ने विचार व्यक्त गर्नुभयो । सबैले आ–आफ्नो ठाउँबाट अभियान चलाउने र निरन्तर आवाज उठाउनुपर्ने विचार पनि उहाँले राख्नुभयो । स्थानीय जनप्रतिनिधिहरुलाई कानुनी कार्यान्वयनका लागि उत्तरदायी बनाउनुपर्ने र सम्बन्धित राजनीतिक पार्टीले उनीहरुलाई सचेत बनाउन जरुरी रहेको विचार पनि उहाँले राख्नुभएको थियो ।

यसपछि भूतपूर्व सिचाईँ मन्त्री नारायण प्रकाश साउदज्यूले कोभिड १९ महामारीको समयमा पनि हिंसा र अपराधका घटना निकै बढेको बताउँदै दण्डहीनताले यस्ता घटना बढाउन मद्दत गरेको जानकारी दिनुभयो । १० वर्षे लामो द्वन्दका कारण हिंसाको मनोवृत्ति सामान्यीकरण गरेको तर अपराधीलाई हतोत्साहित गर्नका लागि कडा भन्दा कडा सजाय दिनुपर्ने धारणा उहाँले राख्नुभयो ।

केन्द्रीय अध्यक्ष

डा. रेणु अधिकारी

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *