प्रेस विज्ञप्तिः कोभिड–१९ संक्रमण, बन्दाबन्दीका कारण मानसिक स्वास्थ्यको स्थिति एवं समयमै सम्बोधन नभएमा यसले ल्याउन सक्ने चुनौतीहरु

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल / तरगिंनी फाउन्डेसनले आज बिहीबार जेष्ठ २२ तद्अनुसार जुन ४ तारिकका दिन बेलुकी ४ देखि ६ बजेसम्म “कोभिड–१९ संक्रमण, बन्दाबन्दीका कारण मानसिक स्वास्थ्यको स्थिति एवं समयमै सम्बोधन नभएमा यसले ल्याउन सक्ने चुनौतीहरु” विषयक भर्चुअल अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो । मानसिक स्वास्थ्यको विकराल समस्या समाधानका लागि गर्न सकिने कार्यहरुका बारेमा छलफल गर्ने, दीर्घकालिन रुपमा सम्बोधन गर्दै मानसिक स्वास्थ्य सेवालाई संस्थागत गर्ने पहलका लागि नेतृत्वको प्रतिबद्धता माग गर्ने र कोरोना कहरबाट सबैलाई शारीरिक एवं मानसिक रुपमा मुक्त गराउने अभियानको सुरु गर्ने यस कार्यक्रमको उद्देश्य रहेको थियो । कार्यक्रममा वक्ताको रुपमा माननीय सांसदज्यूहरु खगराज अधिकारी, विमला विक, दिलकुमारी रावल र गगन थापा ज्यूका साथै मानसिक स्वास्थ्य तथा मनोसामाजिक विज्ञहरु सुष्मा रेग्मी र करुणा कुवँर रहनुभएको थियो । यसका साथै समुदाय तहमा मनोविमर्शकर्ताको रुपमा क्रियाशील देवकुमारी महरा, दमयन्ती राजवंशी, कमला खड्गा, जयकला चौधरी लगायतका अग्रपंक्तिमा रही कार्य गर्ने व्यक्तिहरुले समुदाय तहमा देखिएको समस्या र आवश्यकताका बारेमा जानकारी पनि दिनुभएको थियो ।

कार्यक्रमको सुरुमा संस्थाका अध्यक्ष डा. रेनु अधिकारीले प्रस्तुतिकरण दिनुहुँदै बन्दाबन्दीको अवस्थामा भएको महिलामाथि हुने हिंसा मध्ये ७५% ले मानसिक तनाव भोग्नुपरेको जानकारी दिनुभएको थियो । जसमध्ये ८५% हिंसा घरपरिवार बाटै भएको थियो तर ४१.६% ले कतैबाट पनि सहयोग पाएका थिएनन् । यसपछि सिरहामा कार्यरत मनोविमर्शकर्ता देवकुमारी महराले समुदायमा महिला हिंसा निकै बढेको तर महिलाहरुले कतैबाट पनि न्याय नपाएको स्थितिमा मानसिक तनाव बढेर महिलाहरु आत्महत्या गर्ने स्थितिसम्म पुगेको बताउनुभयो । त्यसैगरी पोखरामा कार्यरत मनोविमर्शकर्ता बिना सिलवालले महिलाहरुलाई घर, श्रीमान्, बालबच्चा र खेतीपातीको कामको बोझ थपिएको र अझै पटकपटक श्रीमानसँग सम्बन्ध राख्नुपर्दा मानसिक तनाव बढेको जानकारी दिनुभयो । उदयपुरमा कार्यरत अर्का मनोविमर्शकर्ता कमला खड्काले कोभिड–१९ भन्दा पनि महिला हिंसाको समस्या डरलाग्दो गरि बढेको र आमाबाबुको झगडाका कारण बच्चाहरुमा मानसिक यातना पुगेको बताउनुभयो ।

यसपछि मनोविद् करुणा कुवँरले अध्ययनहरुले विश्वभर करिब २५ देखि ३३ प्रतिशत व्यक्तिहरुमा डिप्रेसनको समस्या रहेको देखाए पनि नीति तथा कार्यान्वयनमा यसको ध्यानाकर्षण नभएको बताउनुभयो । अर्का विज्ञ सुष्मा रेग्मीले मानसिक समस्या चर्चाको विषय बन्न नसकेकोमा दुख व्यक्त गर्दै महिलाहरुले कोरोना कहर भन्दा धेरै अघि देखि नै थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको बताउनुभयो । महिलाहरुलाई सबैतिर सुरक्षित वातावरणको सिर्जना गर्नुपर्ने, उनीहरुको कुरा सुन्नुपर्ने, उनीहरुको सबल पक्षमा जोड दिनुपर्ने र व्यापक सचेतनामूलक काम गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

शिक्षा तथा स्वास्थ्य समितिका माननीय सांसद तथा भूतपूर्व स्वास्थ्य मन्त्री गगन थापा ज्यूले मानसिक स्वास्थ्यका लागि पूर्वाधार र स्रोत साधन विकासमा जोड दिनुपर्ने बताउँदै स्थानीय सरकारको यसमा भूमिका ठूलो रहेकाले क्षमता अभिवृद्धि पनि गर्दै लानुपर्ने कुरामा जोड दिनुभयो । यसपछि शिक्षा तथा स्वास्थ्य समितिका माननीय सांसद तथा भूतपूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी ज्यूले पनि प्रत्येक क्वारेन्टाइन स्थामा मनोविमर्श सेवाको व्यवस्था गरिनुपर्ने र स्थानीय तहबाट यसको लागि पहल गर्नुपर्ने बताउँदै महिलालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

यसैगरी प्रतिनिधि सभाका माननीय सांसद विमला विकज्यूले क्वारेन्टाइनलाई महिला मैत्री बनाउनुपर्ने, मापदण्ड अनुसारका क्वारेन्टाइन बनाउनुपर्ने, हरेक पालिकामा महिला हिंसा सम्बन्धि टोल फ्रि नम्बरहरु राख्नुपर्ने र हरेक पालिका मनोविमर्शकर्ता राख्ने गरी बजेट बनाउनुपर्ने सुझावहरु दिनुभएको थियो । प्रतिनिधि सभाका माननीय सांसद विन्दा पाण्डे ज्यूले पनि सुझाव दिने क्रममा यो कुरा संसदीय समितिको छलफलमा लिएर जानुपर्ने, विज्ञहरुसँग निरन्तर छलफल गर्नुपर्ने र दीर्घकालिन रुपमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई संस्थागत गर्दै लानुपर्नेमा जोड दिनुभएको थियो ।

डा. रेणु अधिकारी

अध्यक्ष, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल

हाम्रो बारेमाः महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल नेपाल भरिकै महिला मानव अधिकार रक्षकहरुको अधिकार प्रवद्र्धन गर्ने सामूहिक स्थान हो । महिला मानव अधिकार रक्षकहरुले भोगिरहनुभएको समकालीन चुनौतीहरु सम्बोधन गर्न २००७ मा स्थापना भएको महिला मानव अधिकार रक्षकहरु र सम्बद्ध संस्थाहरुको संजाल हो । यो संजाल हाल देशको ७७ जिल्लामै क्रियाशील छ र विभिन्न स्व–प्रतिनिधि महिला अधिकार समूह र आन्दोलनहरु यसमा जोडिनुभएको छ ।

सम्पर्कः

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल

घुम्ती कुमारी मार्ग, काठमाडौ, नेपाल

फोनः ०१ ४४९८२५६

वेबसाइटः www.nawhrd.org  

इमेल: [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *