कोभिड–१९ को बढ्दो संक्रमण नियन्त्रण र सम्बोधनका लागि महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालको हार्दिक अपिल

मितिः ३१ श्रावण, २०७७

कोभिड–१९ महामारीले विकराल रुप लिन थालेको छ । पछिल्लो समयमा काठमाडौँ लगायत घना बस्ती भएका विभिन्न शहरहरुमा कोरोना संक्रमणको संख्या बढ्दै गइरहेको छ । यसरी दिनानुदिन संक्रमित बढ्ने क्रममा काठमाण्डौँमा दिनहुँ जसो १०० भन्दा बढी संक्रमित भेटिन थालेका छन् । गत बुधबार साउन २८ गते मात्रै १० जनाले ज्यान गुमाएका थिए । देशभरि कोभिड–१९ ले मृत्यु हुनेको संख्या करिब १०४ पुगिसकेको छ । यसैगरी स्थानीय तहबाट प्राप्त जानकारीका आधारमा हाल प्रदेश नं. २ सबैभन्दा जोखिममा रहेको देखिन्छ । हाम्रो देशमा कोभिड–१९ को संक्रमण तीव्र गतिमा बढेको भएतापनि नियन्त्रण गर्न सकिने क्षेत्रबाट बाहिर गइसकेको छैन भन्ने हामीलाई लागेको छ । त्यसैले कोभिड–१९ को संक्रमण रोक्न सरकार र समाजका हरेक सदस्य संगठित, संयमित हुँदै र सरकारद्वारा नागरिकहरुको आवश्यकता सम्बोधन गर्दै नागरिकको कुरा सुन्दै गरिने सहकार्य आवश्यक छ ।

शहरी क्षेत्रमा रहेका घना बस्तीहरुमा वा ग्रामीण तहको दुरदराजमा रहेका बस्तीहरुमा त्यही समुदायका व्यक्तिहरुको सहयोग बिना संक्रमित, संक्रमित सँगसँगै उठबस गरेका व्यक्तिहरुको पहिचान र एकान्तबासमा रहेका व्यक्तिहरुलाई सहयोग जस्ता कार्यहरु पूर्णरुपमा हुन असम्भव छ । प्राय जसो बन्दाबन्दी खुकुलो भए पछि धेरै मानिसहरुको आवत जावत बढेको छ । कामको सिलसिलामा मानिसहरुले धेरैजनालाई भेटेका छन् । त्यसैगरि हामी कहाँ धेरै अव्यवस्थित बस्तीहरु छन् जहाँ मानिसहरु सानो ठाउँमा धेरै जना बस्न बाध्य छन् र शौचालयहरु सीमित छन् । यस्ता ठाउँमा कुनै एकजनालाई पनि संक्रमण भएको रहेछ भने छिटै धेरैमा फैलिन सक्ने सम्भावना रहेको छ ।

यो कोभिड–१९ को संक्रमणबाट संख्यात्मक रुपमा महिलाहरु पुरुषको दाँजोमा कम प्रभावित देखिएको भएतापनि व्यवहारिक रुपमा महिलाहरु नै बढी प्रभावित भएका छन् । घरेलु, सामाजिक र यौन हिंसा बढेको छ, रोजगारी गुमेको छ भने घरमा बालबच्चाहरु पढाइ विहीनताको अवस्थामा छन् । घरेलु कामको बोझ बढेको छ । परिवारमा हेरचाह गर्नुपर्ने व्यक्तिहरुको संख्यामा वृद्घि हुँदैछ । यसमा थप कोभिड–१९ को संक्रमणको शंका गरिएका, क्वारन्टाइनमा राख्नपर्ने व्यक्तिहरु पनि घरमै एकान्त वासमा राख्नुपर्ने अवस्था छ । यो अवस्थाले अहिलेसम्म समाजमा महिलालाई दिएको स्थान र जिम्मेवारीका कारण सबभन्दा बढी महिलाहरु प्रभावित भएका छौँ र हुँदैछौँ । त्यसैले यो स्थितिलाई अत्यन्तै गहिरो रुपमा लिँदै सम्बोधनका लागि मार्गचित्र बनाउनुपर्ने अहिलेको आवश्यकता भएको छ । यसैलाई गम्भीरताका साथ लिँदै हामी देश भरिबाट महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल निम्न विषयमा सरकारको ध्यानाकर्षण गराउँदछौँः

  • कोभिड संक्रमण रोकथाम कार्यमा सरकारद्वारा नागरिक समाजसँगको सहकार्य र समन्वयमा समुदाय तह देखि काम गरियोस् ।
  • पछिल्लो समयमा कोभिड संक्रमित संख्या बढे पनि जनमानसमा भने संक्रमणबाट सुरक्षित हुनुपर्नेमा उल्टै लापरवाही बढेको देखिन्छ । यस लापरवाही कम गराउनमा ध्यान दिईयोस् ।
  • साँस्कृतिक चाडपर्वका बेलामा मठ मन्दिरहरुमा धेरै भीडभाड हुन सक्ने अवस्था भएका कारणले गर्दा यस प्रकारका गतिविधि नगराउन त्यही वरिपरिको समुदायका सदस्यको सहयोग लिइ आवश्यक कदम चालियोस् ।
  • घना बस्ती र विशेष गरि सुकुम्बासी बस्तीलाई सुरक्षित गर्ने वातावरण मिलाइयोस् ।
  • कोभिड संक्रमणको परिक्षणको दायरा बढाइयोस् ।
  • होटेल, बैंक र हस्पिटल जस्ता क्षेत्रहरुमा संक्रमण फैलन सक्ने सम्भावना उच्च रहेको हुँदा यस क्षेत्रमा सुरक्षित हुन अपनाउनुपर्ने निर्देशिका जारी गरी संचालन गराइयोस् ।
  • काठमाण्डौँ उपत्यका लगायत अन्य ठाउँहरुमा अस्पतालमा बेडको अभाव हुँदै गएको हुँदा यसको व्यवस्थापन तथा तयारी छिटो भन्दा छिटो गरियोस् ।
  • यो अवस्थामा बढ्दै गएको विभिन्न प्रकारका हिंसा र यसबाट आउन सक्ने परिणमलाई ख्याल गर्दै विशेष व्यवस्था गरियोस् ।
  • दीर्घरोगी, गर्भवती, सुत्केरी, जेष्ठ नागरिक लगायत विशेष सुविधा, सहयोग चाहिने व्यक्तिहरुका लागि समुदायको सहयोगमा समुदाय स्तर देखि नै सहयोगको संयन्त्र निर्माण गरियोस् ।

हामी ७ वटै प्रदेशमा रहेका महिला मानव अधिकार रक्षकहरु यस कोरोना भाइरस विरुद्धको लडाइँमा सरकारलाई निरन्तर साथ र सहयोग दिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

डा. रेणु अधिकारी
केन्द्रीय अध्यक्ष
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *