गणतन्त्र दिवस तथा दोस्रो महिला अधिकार दिवसको सन्दर्भमा महिला मानव अधिकार रक्षक राष्ट्रिय संजालको प्रेस विज्ञप्ति

२०७७ जेठ १५ गते तेह्रौं गणतन्त्र दिवस र २०७७ जेठ १६ गते दोश्रो महिला अधिकार दिवस । यी दुवै हामी सबैका लागि गौरवमय दिन हुन् । यस घडीमा निरंकुश पितृसत्तात्मक राजतन्त्रात्मक राज्य व्यवस्थाको ठाउँमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाको कठिन राजनीतिक संघर्षमा होमिएका, रगत पसिना बगाएका, शहादत प्राप्त गरेका, यस क्रममा घाइते, अपाङ्ग भएका सबै वीर विरंगनाप्रति हामी उच्च सम्मान प्रकट गर्दछौं ।

जनआन्दोलनको बलमा स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २०७५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको थियो, भने २०६३ सालमा पुनर्स्थापित प्रतिनिधि सभाले आमा वा बाबुमध्ये एकको नामबाट पनि सन्तानले नागरिकता पाउन सक्ने ग्यारेण्टी गर्न, समानुपातिक सहभागिताको लक्ष्यमा पुग्ने कुरालाई ध्यानमा राखि हाललाई कम्तीमा एक तिहाई महिलालाई राज्यको सबै संरचनामा सहभागिताको ग्यारेण्टी गर्न, विभेदकारी कानूनको खारेजी गर्न, महिलाप्रति हुने गरेका हिंसाको अन्त्य गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव जेठ १६ का दिन सर्वसम्मत रुपमा पारित गरेको थियो । तसर्थ यस उपलब्धिपूर्ण दिनको स्मरणमा नेपाल सरकारले गत वर्षदेखि प्रत्येक वर्ष जेठ १६ का दिन राष्ट्रिय महिला अधिकार दिवस मनाउने घोषणा गरेको हो । त्यसैगरी जेष्ठ २१ गतेलाई दलित अधिकार दिवस भनि घोषणा गरिएको छ ।

यी दिवसहरुको घोषणाले राजनैतिक नेतृत्वमा, गणतन्त्र संस्थागत गर्नका लागि यी समुहहरुको संविधान प्रदत्त समानताको अधिकार सुनिश्चित गर्नुपर्छ एवं सोका लागि विशेष व्यवस्था अनिवार्य छ भन्ने स्वीकारोक्ति छ भन्ने जाहेर हुन्छ । लोकतन्त्रमा सरकार राजनीतिक पार्टीहरुले नै चलाउने भएको हुँदा उक्त घोषणा सरकारको नीति कार्यक्रममा समावेश हुन्छन्, भएका छन्  यी पक्कै पनि सकारात्मक कदम हुन् ।

तर व्यवहारमा, अहिले पनि पश्चिम रुकुम, कास्की, गुल्मी, रौतहट लगायतका स्थानहरुमा दलितहरुमाथि गरिएको व्यवहार, घटाइएका घटनाहरु हुन् वा उर्लँदो रुपमा रहेका विभिन्न प्रकारका महिला हिंसा, बढ्दो आत्महत्या, सुत्केरी, गर्भवती अवस्थामा गरिने व्यवहार (विशेषत नेपालको जनसंख्याको बहुमत संख्यामा रहेका गरिब महिलाहरु लक्षित), सेवाको सिमितता, अहिले कोभिड–१९ संक्रमण नियन्त्रणका लागि बनाइने क्वारेन्टाइन समेतमा महिलाका आवश्यकताहरुको ख्याल नगर्नु, नीतिगत व्यवस्था नगर्नु जस्ता विभिन्न परिणामहरुले यस्ता दिवसहरुको घोषणा ओठे प्रतिबद्धता हुन् भन्ने ठोकुवा गर्ने प्रशस्तै आधार दिन्छन् । त्यसैले हामी महिला मानव अधिकार रक्षक सञ्जालका सदस्यहरु यस्ता सम्पूर्ण घटनाबाट प्रभावित व्यक्तिहरुलाई संविधानले व्यवस्था गरे अनुसारको कानूनी कारवाही अबिलम्व गरि सरकार ओठे प्रतिबद्धता मात्रै हैन, गरेका प्रतिबद्धतालाई जिम्मेवार ढंगले कार्यान्वयन गर्न प्रतिबद्ध छ भन्ने विश्वास दिलाउन हार्दिक अनुरोध गर्दछौं ।

मुलुकमा गणतन्त्र स्थापनाको १२ वर्ष बितिसक्दा र संकल्प प्रस्ताव पारित भएको १४ वर्ष बितिसक्दा अझै पनि नागरिकहरुले अपेक्षित परिवर्तन महशुस गर्न सकेका छैनन् । यो संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आ–आफ्नो ठाउबाट क्रियाशील सबै व्यक्तिको लागि चिन्ताको विषय भएको छ । संघिय लोतान्त्रिक गणतन्त्रमा सबै नागरिक सत्ताको समान साझेदार हुन् भनिन्छ । जनताले आफ्नो प्रतिनिधि चुनेर सरकारमा प्रतिनिधित्व गर्न पठाउँछ । आफ्नो प्रतिनिधिको रुपमा आफ्ना अधिकारहरु सुनिश्चित गराउने अभिभारा दिएर, तर अफशोस अझै पनि नागरिकहरुको मानमर्दन भइरहेको छ । न्याय प्राप्त गर्नु आकाशको फल बनेको छ । उदाहरणका लागि हामी बन्दाबन्दी सुरु भएपछि सडकमा हिँड्ने हजारौ गरिब, श्रमिक मजदुरहरुको स्थिति, अहिले भारतबाट सिमाना प्रवेश गर्न बाध्य गरिब मजदुरहरुको स्थिति, विभिन्न हिंसाबाट छटपटाइ रहेका न्यायको कुनै पनि सम्भावना नदेखेका महिलाहरुको स्थिति होस् वा भर्खरै घटेको पश्चिम रुकुममा घटेको घटना होस्, यस्ता विभिन्न घटनाहरुलाई लिन सक्दछौँ ।

पक्कै पनि यो अवधिमा धेरै सकारात्मक कामहरु पनि नभएका होइनन् । अहिले संघियताको औचित्य पुष्टी हुने गरि विभिन्न स्थानीय सरकारबाट धेरै सकारात्मक र रुपान्तरणकारी काम भएका छन् । यस्ता कामका लागि ती स्थानीय सरकारहरुलाई हामी धन्यवाद दिन चाहन्छौ । तर यसको साथै के पनि भन्न चाहन्छौं भने रुपान्तरण कुनै ठाउँ विशेषमा गरिएको सकारात्मक  प्रयासबाट मात्रै सम्भव हुन्न । यसका लागि  समग्रतामा, सोचमा र, व्यवहार अनि कार्यान्वयनको तरिकामा रुपान्तरण आवश्यक हुन्छ ।

तसर्थ हामी यो गणतन्त्र एवं दोस्रो राष्ट्रिय महिला अधिकार दिवसमा तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदै, समुदाय तहदेखि जरो गाडेर रहेको विभेदलाई निर्मुल गर्ने कार्यको माथिबाटै सुरुवात गरि सामाजिक रुपान्तरणको अभियान थालियोस् भन्ने अपिल गर्दछौ । सामाजिक रुपान्तरणका लागि हरेक व्यक्तिको आफ्नो पहिचान, शरिर र श्रममा आफ्नै अधिकार हुने व्यवस्था गरियोस् भन्ने माग गर्दछौ ।

यो स्थिति, देशमा स्थापित दण्डहीनताको संस्कृति रहेसम्म सम्भव छैन । त्यसैले अहिलेसम्म घटेका माथि उल्लेखित घटनाहरुमा उचित कारवाही एवं न्यायको सुनिश्चितता गर्दै समुदाय तहदेखि सुसुप्त बनाइएको न्यायिक समितिहरुको सुदृढीकरण गर्दै चलायमान बनाउदै, स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा सुनिश्चित गर्न मानसिक, शारीरिक स्वास्थ्य सेवाको आधारभूत आवश्यकता अबिलम्ब पुरा गर्न आग्रह गर्दछौ ।

यी व्यवहारिक आवश्यकता पूर्ति गर्नुका साथै देशमा यत्रतत्र सर्वत्र संस्कारको रुपमा परिणत हुँदै गएको भ्रष्टाचार, गणतान्त्रिक संरचनाको जरो नै हल्लाउने गरि स्थापित विभेदकारी संस्कृति, उत्पादनका साधनहरुमा रहेको अन्यायपूर्ण सम्बन्ध र बढ्दै गएको नागरिक र नेतृत्वको बीचको असमान शक्ति सम्बन्धको खाडलमा नीति व्यवहार र उचित कार्यान्वयनका मध्यमबाट परिवर्तन गरि नागरिकलाई अनुभूत गर्न सक्ने वातावरण तयार गर्न अनुरोध गर्दछौँ । यति हुन सके हामी गर्वका साथ आउँदा गणतन्त्र दिवस अनि महिला अधिकार दिवस, दलित अधिकार दिवसहरु मनाउन सक्नेछौँ । साँच्चिकै संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका समान नागरिकका रुपमा गर्व गर्न सक्नेछौ । यी दुवै दिवसले हामीलाई यसो गर्ने प्रेरणा मिलोस् सबैमा शुभकामना ।

गणतन्त्र दिवस र महिला अधिकार दिवसको अवसरमा हामी सबैले समानता, न्याय र समृद्धिको यात्रामा निरन्तर अघि बढ्न प्रेरणा लिन सकौं । सबै नागरिकले गणतन्त्रलाई आफ्नै जीवनमा महशुस गर्ने वातावरण बनोस् । सबैमा शुभकामना !!!

डा. रेणु अधिकारी

अध्यक्ष, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल

हाम्रो बारेमाः महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल नेपाल भरिकै महिला मानव अधिकार रक्षकहरुको अधिकार प्रवद्र्धन गर्ने सामूहिक स्थान हो । महिला मानव अधिकार रक्षकहरुले भोगिरहनुभएको समकालीन चुनौतीहरु सम्बोधन गर्न २००७ मा स्थापना भएको महिला मानव अधिकार रक्षकहरु र सम्बद्ध संस्थाहरुको संजाल हो । यो संजाल हाल देशको ७७ जिल्लामै क्रियाशील छ र विभिन्न स्व–प्रतिनिधि महिला अधिकार समूह र आन्दोलनहरु यसमा जोडिनुभएको छ ।

सम्पर्कः

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल

घुम्ती कुमारी मार्ग, काठमाडौ, नेपाल

फोनः ०१ ४४९८२५६

वेबसाइटः www.nawhrd.org

इमेल: [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *